आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटको गृहकार्य तीव्र पारेको छ। पार्टीले चुनावको मुखमा मात्र टिकट बाँड्ने पुरानो शैली छाडेर निकै अगाडिदेखि नै आकांक्षी खोज्ने, जाँच्ने र प्रशिक्षण दिने प्रक्रिया सुरु गरेको हो।
यसै क्रममा विराटनगर महानगर समितिले सोमबार स्थानीय निर्वाचन केन्द्रित अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्यो। विराटनगर बसपार्कस्थित आरके पार्टी प्यालेसमा भएको कार्यक्रममा १९ वटै वडाका सभापतिसहित नगर, जिल्ला, प्रदेश र केन्द्रका नेता तथा सांसद सहभागी भए। करिब ६ घण्टाभन्दा लामो छलफलमा उम्मेदवार छनोटको विधि र पार्टी रणनीतिबारे कुरा भयो। कार्यक्रमको नेतृत्व केन्द्रीय सचिवालय सदस्य लिमा अधिकारी, सचेतक प्रकाशचन्द्र परियार र केन्द्रीय सदस्य रोहन कार्कीले गरेका थिए।
विराटनगर महानगरको मेयर पदका लागि मात्रै पार्टीभित्र ५० भन्दा बढीले आन्तरिक आकांक्षा देखाएको चर्चा छ। अधिकारीका अनुसार आकांक्षीहरूको मनोभाव, गुनासो र तयारी बुझ्न कार्यक्रम राखिएको थियो र आकांक्षीहरूले परम्परागत गफभन्दा बाहिर निस्किएर आफ्ना स्थानीय योजना सुनाएका थिए।
पार्टीले उम्मेदवार बन्न चाहने संगठित सदस्यहरूका लागि सुरु गरेको ‘क्यान्डिडेट क्लब’ मा तल्लो तहबाट व्यापक आकर्षण देखिएको छ। अधिकारीका अनुसार गाउँपालिका तहमा मात्रै हालसम्म २० हजारभन्दा बढीले उम्मेदवारीका लागि आवेदन दिइसकेका छन् भने नगरपालिकाको आवेदन प्रक्रिया अझै जारी छ। आवेदन संकलनपछि सबैको लिडरसिप एकेडेमीमा प्रशिक्षण हुने र त्यसपछि आन्तरिक प्राइमरी निर्वाचन हुने उनले बताइन्।
टिकट वितरणमा नेताको सिफारिस वा भनसुन नचल्ने पार्टीको दाबी छ। उम्मेदवार छनोटका लागि चार आधार तय गरिएको छ : राजनीतिक सामीप्यताको २५ प्रतिशत, लिडरसिप एकेडेमीको २५ प्रतिशत, समावेशिताको १० प्रतिशत र आन्तरिक प्राइमरी निर्वाचनको ४० प्रतिशत भाराङ्क। प्राइमरीमा सम्बन्धित भूगोलका पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्नेछन् र त्यसभित्र ६० देखि ७० प्रतिशत भाराङ्क वडालाई दिइएको छ भने केन्द्रीय सदस्य र सांसदलाई जम्मा १० प्रतिशत मात्रै दिइएको छ।
विराटनगरको कार्यक्रम सफल भएपछि यही मोडेलका अन्तरक्रिया सातै प्रदेश र सबै पालिकामा लैजाने गृहकार्य सुरु गर्न आफूले नेतृत्वलाई सुझाव दिने अधिकारीले बताइन्।
