राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार बिहीबार बसेको संसदीय उपसमितिको बैठकमा उपस्थित भएनन्। पार्टीले छानबिन नसकिएसम्म उनलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएकाले उनी बैठकमा नआएको बताइएको छ।
एक महिलालाई लक्षित गरेर आपत्तिजनक भाषा र धम्की प्रयोग गरिएको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले उनीमाथि छानबिन थालेको छ। छानबिन पूरा नहुँदासम्म सार्वजनिक पद वा औपचारिक तथा सार्वजनिक कार्यक्रममा सरिक हुन नपाउने निर्णय पार्टीले गरेको हो।
बिहीबार बिहान सिंहदरबारमा निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोसाक खरिदबारे अध्ययन गर्ने उपसमितिको दोस्रो बैठक बसेको थियो। बैठकमा उपसमितिको कार्यविधिमाथि छलफल भयो। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले १६ असोज २०८३ मा उक्त अध्ययनका लागि नौ सदस्यीय उपसमिति गठन गरेको थियो। सांसद मनिष झाको नेतृत्वमा रहेको उपसमितिको पहिलो बैठक २१ असोजमा बसेको थियो।
उपसमितिमा ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य छन्। उपसमितिलाई दुई महिनाको समय दिइएको छ। प्राप्त उजुरी र प्रहरीबाट आएका विवरण अध्ययन गरेर प्रतिवेदन तयार गर्ने गरी कार्यविधि बनाइएको छ। प्रारम्भिक काम ३० कात्तिकभित्र सक्ने लक्ष्य राखिएको छ।
नेपाल प्रहरीले गत वर्ष माघमा निर्वाचन प्रहरीका लागि पोसाक खरिद गरेको थियो। त्यसमा अनियमितता भएको भन्दै सांसद सुनारले निरन्तर प्रश्न उठाउँदै आएका थिए। २१ फागुनको निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० र सशस्त्र प्रहरीले १५ हजार ११० गरी एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी भर्ना गरेको थियो। भूगोलअनुसार प्रतिव्यक्ति ५० हजार ९५४ देखि ८६ हजार ४८४ रुपैयाँसम्म खर्च भएको थियो। पोसाक शीर्षकमा करिब एक अर्ब रुपैयाँ निकासा भएको थियो।
