टर्कीएको अन्ताल्यामा हुन लागेको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ मा नेपालले स्वास्थ्यको विषयलाई अग्रस्थानमा राख्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सम्मेलनअन्तर्गत आयोजना हुने उच्चस्तरीय छलफलको अध्यक्षता गर्नेछिन्।
आगामी नोभेम्बर ९ गते बिहान नेपाल पेभिलियनमा ‘जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्य: एक विश्वव्यापी दृष्टिकोण’ विषयक सत्र हुनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, इपास नेपाल र विश्व स्वास्थ्य सङ्गठन नेपालको सहकार्यमा हुने उक्त सत्रमा विभिन्न देशका प्रतिनिधि र अन्तरराष्ट्रिय साझेदार सहभागी हुनेछन्।
छलफलमा बदलिँदो जलवायुले जनस्वास्थ्यमा पारेको असर, विपद्का बेला स्वास्थ्य सेवा प्रवाहमा देखिने कठिनाइ र जलवायु अनुकूल स्वास्थ्य प्रणाली निर्माणका उपायमाथि विचार आदानप्रदान हुनेछ। बाढीपहिरो, चर्को गर्मी, सङ्क्रामक रोगको स्वरूपमा आएको परिवर्तन तथा खाद्य र पानीको असुरक्षाले स्वास्थ्य संस्थाको पूर्वाधार, स्वास्थ्यकर्मी र औषधि आपूर्तिमा प्रत्यक्ष असर पारिरहेको विषय उठाइनेछ।
नेपालले जोखिममा रहेका मुलुकको स्वास्थ्य प्रणाली बलियो बनाउने, स्वास्थ्य क्षेत्रका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तको उपलब्धता, स्वास्थ्यसम्बन्धी राष्ट्रिय अनुकूलन योजना कार्यान्वयन र जलवायुजन्य विपद्बाट हुने स्वास्थ्य हानिको मूल्याङ्कनका विषयमा आफ्नो धारणा प्रस्तुत गर्नेछ। स्वास्थ्यलाई न्यूनीकरण र अनुकूलनका प्रयासमा प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय सहकार्य, वित्तीय सहयोग र नीतिगत प्रतिबद्धता आवश्यक रहेको सन्देश नेपालले सम्मेलनमार्फत दिने तयारी गरेको मन्त्रीको सचिवालयले जनाएको छ।
