काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–२ निवासी १७ वर्षीया एक किशोरीलाई प्रसूति जटिलता देखिएपछि हवाई मार्गबाट उद्धार गरी सुर्खेत लगिएको छ । दुर्गम बस्तीबाट समयमै स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने अवस्था आएपछि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर उनको उद्धार गरिएको हो ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएअनुसार राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रममार्फत यो उद्धार सम्भव भएको हो । कार्यक्रमले आपत्कालीन अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई सहयोग उपलब्ध गराउँदै आएको छ ।
परियोजनाले यस्ता जटिल अवस्थामा रहेका महिलालाई सक्दो मद्दत गर्ने कामलाई निरन्तरता दिएको जनाएको छ । दुर्गम पहाडी जिल्लामा सडक र अस्पतालको पहुँच सीमित भएकाले गर्भवती महिलाको ज्यान जोखिममा पर्ने घटनालाई रोक्न यो कार्यक्रम महत्वपूर्ण मानिएको छ ।
यसअघि पनि पहाडी तथा हिमाली क्षेत्रका धेरै सुत्केरी महिलाको यस्तै हवाई उद्धार कार्यक्रममार्फत उद्धार भइसकेको छ । मन्त्रालयले आवश्यकता पर्दा नागरिकले नजिकको स्थानीय तह वा स्वास्थ्य संस्थामार्फत कार्यक्रममा सम्पर्क गर्न आग्रह गरेको छ ।
