काठमाडौँ — दसैँ पर्वको अवधिमा मादक पदार्थ तथा लागुऔषध सेवन गरेर सवारी चलाउने ७०३ जना चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ। कार्यालयका अनुसार गत असोज २५ देखि आजसम्मको अवधिमा मादक पदार्थ सेवन गरेका ६७७ जना र लागुऔषध सेवन गरी सवारी चलाएका २६ जना चालक कारबाहीमा परेका हुन्।
उनीहरूमाथि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही गरिएको कार्यालयले जनाएको छ। चाडपर्वका बेला सवारी दुर्घटना बढ्ने भएकाले उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले चेकजाँच बढाउने गरेको छ।
मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारी चलाउँदा आफूसहित अरूको ज्यानसमेत जोखिममा पर्ने भएकाले चाडपर्वमा विशेष सावधानी अपनाउन ट्राफिक प्रहरीले सबै सवारी चालकलाई आग्रह गरेको छ।
