काठमाडौं । चालु आर्थिक वर्षको वैशाखदेखि कात्तिकको सुरुवातसम्ममा विभिन्न विपद्का घटनामा ३८६ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार सात महिनाभित्र देशभर ७ हजार ४ सय ३९ विपद्का घटना भएका हुन् ।
घटनामा २ हजार ४ सय ३३ जना घाइते भएका छन् भने १४ जना बेपत्ता छन् । विपद्बाट झन्डै ९ हजार ५ सय २५ परिवार प्रभावित भएका छन् ।
सबैभन्दा चिन्ताजनक तथ्याङ्क सर्पदंशको छ । एक हजार ६ सय २२ सर्पदंशका घटनामा ११० जनाको मृत्यु भएको छ । पहिरोबाट ७६, बाढीबाट ४१ र चट्याङबाट ३६ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । आगलागीका एक हजार ५ सय ७ घटनामा २९ जनाको मृत्यु भएको छ ।
लेक लागेर २६, वन्यजन्तुको आक्रमणबाट २१, हिमपहिरोबाट १९ र हावाहुरीबाट १६ जनाको ज्यान गएको विवरणमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा पनि २१ जिल्लामा २४ विपद्का घटना भएका छन्, जसमा एक जनाको मृत्यु भएको छ । प्राधिकरणले मौसम परिवर्तनसँगै आगलागी र चिसोको जोखिमप्रति सचेत रहन आग्रह गरेको छ ।
