अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने कडा चेतावनी दिएका छन्। उनले फ्रान्ससहित युरोपका विभिन्न देशमा देखिएको अशान्तिको मूल कारण आप्रवासन रहेको दाबी गरेका छन्।
ह्वाइट हाउस बाहिर सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्सको समस्या शिक्षा वा घरेलु नीतिसँग सम्बन्धित नरहेको बताए। उनको भनाइमा, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई उनले वर्षौंअघि नै आफ्नो देशको सीमा बन्द गर्न सुझाव दिएका थिए। ट्रम्पले फ्रान्सले आफ्नो संस्कृति, कला र सम्पत्तिप्रति सम्मान नराख्ने मानिसहरूलाई प्रवेश दिँदा समस्या भोगिरहेको दाबी गरे।
“युरोपले आफ्ना सीमा बन्द गरेन र अपराधीहरूलाई निष्कासन गरेन भने युरोप समाप्त हुनेछ,” ट्रम्पले भने। उनले आफ्नो देशलाई घृणा गर्ने मानिसहरूलाई निष्कासन नगरे युरोपको अस्तित्व नै सङ्कटमा पर्ने टिप्पणी गरे। अमेरिकाले आफ्नो सीमा बन्द गरेको, तर फ्रान्सले त्यसो नगरेको उनको दाबी थियो।
म्याक्रोनले अशान्तिको कारणबारे ऊर्जा सङ्कट र अमेरिकी नीतिका व्यापक भूराजनीतिक प्रभावतर्फ सङ्केत गरेका सन्दर्भमा ट्रम्पको यो टिप्पणी आएको हो।
यसैबीच, फ्रान्सको बोर्डो सहरमा सप्ताहान्तमा गम्भीर अशान्ति र व्यापक लुटपाट भएपछि स्थानीय अधिकारीहरूले अभिभावकविहीन नाबालिगहरूका लागि एक सातासम्म राति बाहिर निस्कन प्रतिबन्ध लगाएका छन्।
