पाँच दशकअघि संसारबाट बिदा भएका एक सन्तको जीवनमा बनेको फिल्मले बक्स अफिसमा आँधी सिर्जना गरेको छ। नीब करौरी बाबाको जीवनीमा आधारित ‘हनुमान अंश’ ले गएको बिहीबारसम्म कुल २७२ करोड २३ लाख रुपैयाँ कमाएको छ। प्रसिद्ध फिल्म समीक्षक तरण आदर्शले सामाजिक सञ्जाल एक्समार्फत यो आँकडा सार्वजनिक गर्दै फिल्म ३०० करोडको छेउमा पुगेको जानकारी दिएका छन्।
यो सफलतालाई अझै चकित बनाउने कुरा फिल्मको लागत हो। निर्मात्री अनुप्रिया नागरका अनुसार फिल्म दुई करोड रुपैयाँभन्दा कम लगानीमा निर्माण भएको हो। अर्थात्, सानो लगानीको फिल्मले सयौं करोडको बजार हात पारेको छ।
फिल्मको कथा भोसले नामका एक व्यक्तिबाट सुरु हुन्छ, जसले आफ्ना नातिलाई बाबासँगको भेटबारे सुनाउँछन्। त्यसपछि कथा बाबाको बाल्यकाल र आध्यात्मिक खोजीतिर अघि बढ्छ। शोभिनव सत्याले मुख्य भूमिका निभाएका छन्, र उनको अभिनयले समीक्षक तथा दर्शक दुवैको प्रशंसा बटुलेको छ। ‘द इन्डियन एक्सप्रेस’ की समीक्षक शुभ्रा गुप्ताका अनुसार शोभिनवले मौनता र भावभंगिमाबाट पात्रलाई शक्तिशाली बनाएका छन्।
छायाङ्कन २२ दिनमा सम्पन्न भएको थियो। मुम्बईमा दुई दिन र बाँकी काम चित्रकूटमा गरिएको थियो। टोलीले यो कथालाई तीनवटा फिल्ममा प्रस्तुत गर्ने योजना बनाएको छ।
फिल्मले कैंची धामप्रतिको चासो पनि बढाएको छ। भीड बढ्दै जाँदा त्यहाँ पार्किङ, सरसफाइ र फोहोर व्यवस्थापनमा दबाब बढेको छ। यस्तै, पर्यटन मन्त्रालयले धाम परिसरको विकासका लागि १७ करोड ६० लाख रुपैयाँ स्वीकृत गरेको छ।
