हैदराबाद । दक्षिण भारतीय चलचित्रका सुपरस्टार रजनीकान्तको नयाँ चलचित्र ‘जेलर २’ ले रिलिजको पहिलो दिनमै बक्स अफिसमा रेकर्डतोड कमाइ गरेको छ । नेल्सन दिलीपकुमारको निर्देशनमा बनेको यो एक्सन-ड्रामा चलचित्र अक्टोबर १५ मा सार्वजनिक भएको थियो । पहिलो दिन यसले भारतभित्र ५९ करोड ७० लाख भारतीय रुपैयाँ खुद सङ्कलन गरेको व्यापारिक साइट स्याकनिल्कले जनाएको छ ।
देशभर १६ हजार ५ सय ९९ वटा शोबाट चलचित्रले भारतमा ७० करोड २५ लाख रुपैयाँ कुल (ग्रस) कमायो भने विदेशी बजारबाट ५५ करोड रुपैयाँ कुल उठ्यो । यसरी पहिलो दिनको विश्वव्यापी सङ्कलन १२५ करोड २५ लाख रुपैयाँ पुगेको छ । पहिलो दिन हलमा झन्डै ३७ लाख ४७ हजार दर्शक चलचित्र हेर्न आएका थिए ।
विदेशी कमाइका आधारमा ‘जेलर २’ ले यसै वर्ष जनवरीमा रिलिज भएको ‘धुरन्धर २’ को रेकर्ड तोडेको छ । ‘धुरन्धर २’ ले पहिलो दिन विदेशमा ५२ करोड रुपैयाँ कुल सङ्कलन गरेकोमा ‘जेलर २’ ले ५५ करोड रुपैयाँ हासिल गर्यो । त्यस्तै १२५ करोड २५ लाखको विश्वव्यापी ओपनिङसँगै यसले रणवीर कपुर अभिनीत ‘एनिमल’ को ११६ करोड रुपैयाँको विश्वव्यापी ओपनिङ रेकर्डलाई पनि पछाडि पारेको छ ।
भाषाअनुसारको तथ्याङ्क हेर्दा तमिल संस्करण सबैभन्दा अगाडि देखियो । तमिलमा ९ हजार ३ सय २६ शोबाट ४३ करोड ३५ लाख रुपैयाँ खुद सङ्कलन भयो र हलमा दर्शक उपस्थिति ७०.८ प्रतिशत रह्यो । तेलुगु संस्करणले २ हजार ७ सय ९२ शोबाट १२ करोड ५० लाख, हिन्दी संस्करणले ४ हजार ३ सय ७१ शोबाट ३ करोड ५० लाख र कन्नड संस्करणले १ सय १० शोबाट ३५ लाख रुपैयाँ बटुले ।
‘जेलर २’ मा रजनीकान्त सेवावृत्त जेलर टाइगर मुथुवेल पाण्डियनको भूमिकामा पुनः देखिएका छन् । अन्डरवर्ल्डबाट नयाँ खतरा देखापरेपछि परिवार र विरासत बचाउन उनले फेरि हिंसात्मक बाटो रोज्नुपर्ने कथामा देखाइएको छ । चलचित्रमा रजनीकान्तसँगै मोहनलाल र विद्या बालान प्रमुख भूमिकामा छन् ।
