बाराको हुलाकी राजमार्गमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एक किशोरको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार महागढीमाई नगरपालिका–१ मा पर्ने हुलाकी राजमार्गको प्लाई फ्याक्ट्री चोकमा बिहान करिब साढे ११ बजे दुर्घटना भएको हो। बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो।प्रहरीका अनुसार स्कारपियोको नम्बर बीआर १९ जी ९९२१ र मोटरसाइकलको नम्बर बागमती प्रदेश ०३–००५ प ८८५५ हो।दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–२१ का १७ वर्षीय धिरज यादव गम्भीर घाइते भएका थिए। टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा बिहान ११ बजेर ५५ मिनेटमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।सोही मोटरसाइकलमा सवार कलैया–२१ कै १६ वर्षीय नगेश साह र १८ वर्षीय अरुण यादव पनि घाइते भएका छन्। साहको दाहिने हात, अनुहार र बायाँ खुट्टामा चोट लागेको छ भने अरुण यादवको दाहिने हात र खुट्टामा चोट लागेको छ। दुवैको सोही अस्पतालमा उपचार भइरहेको छ।दुर्घटनापछि प्रहरीले स्कारपियोका चालक रौतहटको परोहा नगरपालिका–३ का ३८ वर्षीय अरुण कुमार दुबेलाई नियन्त्रणमा लिएको छ। उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको छ।घटनास्थलको मुचुल्का तयार गर्न इन्स्पेक्टर विमल खतिवडाको कमान्डमा प्रहरी टोली खटिएको छ। दुर्घटनामा परेको मोटरसाइकल प्रहरी चौकी बरियारपुरको नियन्त्रणमा रहेको छ।
कलैयातर्फ जाँदै गरेको स्कारपियोले ठक्कर दिँदा बारामा १७ वर्षीय किशोरको ज्यान गयो
