गोरखा — बुढीगण्डकी नदीको बाढीले क्षति पुर्याएको आरुघाटको पुलमा बेलिब्रिज निर्माणको काम तीव्र पारिएको छ। यातायात सेवा तत्काल पुनः सञ्चालनमा ल्याउने उद्देश्यले आइतबार नै बेलिब्रिज जोड्ने तयारी भइरहेको छ।
केही दिनअघिको बाढीले आरुघाटस्थित पुलको गोरखातर्फको २२ मिटर भाग बगाएको थियो। उक्त खण्ड क्षतिग्रस्त भएपछि गोरखा र धादिङ जोड्ने यो सडकमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
हाल नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा बेलिब्रिज जडानको काम भइरहेको छ। प्राविधिक टोलीले पुलका संरचना खडा गर्न दिनरात काम गरिरहेको र निर्धारित योजना अनुसार आजै बेलिब्रिज जोड्ने लक्ष्य राखिएको छ। बेलिब्रिज जडान भएपछि उक्त मार्गमा सवारी साधन पुनः चल्न सक्नेछन्।
