दसैँको महाअष्टमीका अवसरमा जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरमा दुर्गा माताको खोइँछ भर्न हजारौँ महिला ओइरिएका छन्। सन्तानको दीर्घायु र परिवारमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै महिलाहरू बिहानैदेखि मन्दिर पुगेर परम्परागत विधिअनुसार खोइँछ भरिरहेका छन्।
जनकपुरधामका साथै धनुषा र आसपासका ग्रामीण क्षेत्रबाट ठूलो सङ्ख्यामा श्रद्धालु महिला पूजासामग्री र फूलडाली लिएर मन्दिर आएका छन्। भक्तजनको चाप बढेपछि जनकचोक, जानकीचोक, भानुचोक र शिवचोकलगायत मुख्य बजारका व्यापारिक प्रतिष्ठानसमेत बन्द रहेका छन्।
मिथिलामा दुर्गा माताको खोइँछ भर्ने परम्परा प्राचीन कालदेखि चलिआएको छ। विवाहित छोरीलाई माइतीबाट बिदाइ गर्दा नयाँ कपडामा पान, सुपारी, पैसा, धान वा चामल, सिन्दूर, बेसार, फूल र फल राखेर खोइँछ दिने चलनलाई निरन्तरता दिँदै महिलाहरूले माताको खोइँछ भर्ने गरेका हुन्।
यस वर्ष तिथिको हेरफेरका कारण खोइँछ भर्ने समय केही फरक परेको छ। सप्तमीको साँझदेखि नै केही महिलाले खोइँछ भर्न थालेका थिए, भने अष्टमीका दिन विधि पूरा गर्ने महिलाको सङ्ख्या उल्लेख्य बढेको छ।
जनकपुरधाम–९ निवासी लक्ष्मी कर्णले भीडका कारण खोइँछ भर्ने स्थानसम्म पुग्न १५–२० मिनेट लाममा बस्नुपरेको बताइन्। उनले बिहान ३ बजे उठेर ४ बजे मन्दिर पुगेको र खोइँछ भर्न पाएपछि खुसी लागेको अनुभव सुनाइन्।
राजदेवी मन्दिरमा खोइँछ भर्नेका साथै लड्डु चढाउने भक्तजनको पनि ठूलो भीड लागेको छ। लड्डु चढाउन शुक्रबार राति २ बजेदेखि नै श्रद्धालु लामबद्ध भएका थिए। पुरुष भक्तजनको लाइन व्यवस्थापनका लागि महावीर युवा कमिटीले विशेष प्रबन्ध मिलाएको छ। स्थानीय रोशन साहका अनुसार बिहान २ बजे मन्दिर पुगेका उनी चार–पाँच घण्टा लाइनमा बसेपछि मात्रै दर्शन गर्न पाए। राजा जनककी कुलदेवी मानिने यस मन्दिरमा मात्र नभई धनुषाको रमदैयास्थित राजदेवी मन्दिर, महेन्द्रनगरको दुर्गा मन्दिर र महोत्तरीको सोनामाई मन्दिरमा पनि भक्तजनको भीड लागेको छ। यसैबीच शनिबार रातिदेखि मन्दिरमा पशुबलि दिने तयारी गरिएको छ; प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा बोका बलि दिने परम्परा छ।
