तनहुँ । तनहुँमा दुई लाख ६१ हजारभन्दा बढी पशुपन्छी तथा जलचरको बीमा गरिएको छ। पशुधनमा हुन सक्ने जोखिम कम गरी पशुपालक किसानलाई सम्भावित आर्थिक क्षतिबाट जोगाउने उद्देश्यले जिल्लामा पशु बीमा कार्यक्रम सञ्चालन हुँदै आएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँका अनुसार जिल्लामा गाई, भैँसी, बाख्रा, बङ्गुर, कुखुरा, माछा तथा घोडा–खच्चर गरी कुल दुई लाख ६१ हजार ११२ पशुपन्छीको बीमा गरिएको छ। बीमा गरिएका पशुधनको कुल बीमित मूल्य ६८ करोड ९३ लाख ४२ हजार ४२८ रुपैयाँ पुगेको छ। त्यसका लागि तीन करोड २२ लाख ९३ हजार ८९० रुपैयाँ प्रिमियम लागेकामा किसानले ६४ लाख ५० हजार ७७९ रुपैयाँ व्यहोरेका छन्।
जिल्लामा सबैभन्दा धेरै एक लाख ५२ हजार १४७ कुखुराको बीमा गरिएको छ। ती कुखुराको बीमित मूल्य १० करोड ४५ लाख ९० हजार ६८१ रुपैयाँ रहेको छ भने त्यसका लागि ३० लाख पाँच हजार १३३ रुपैयाँ प्रिमियम लागेकामा किसानले छ लाख एक हजार २७ रुपैयाँ तिरेका छन्।
त्यस्तै, ९८ हजार ५०० माछाको बीमा गरिएको छ, जसको बीमित मूल्य २५ लाख २४ हजार रुपैयाँ रहेको छ। चार हजार ९१ गाईको ३० करोड ९६ लाख ५२ हजार, एक हजार ९७० भैँसीको १५ करोड १७ लाख १४ हजार, तीन हजार ४१२ बाख्राको छ करोड ८३ लाख ७४ हजार ७४७ र ९८९ बङ्गुरको पाँच करोड १८ लाख ८१ हजार रुपैयाँ बराबरको बीमा गरिएको छ। जिल्लामा तीन घोडा–खच्चरको समेत बीमा गरिएको छ, तिनको बीमित मूल्य छ लाख रुपैयाँ रहेको छ।
कार्यालयका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार पशु बीमाले रोग, दुर्घटना तथा बीमालेखमा समेटिएका अन्य कारणबाट पशुधनमा क्षति हुँदा किसानलाई आर्थिक राहत दिने आधार तयार गर्छ। विशेषगरी गाईभैँसी, बाख्रा, कुखुरा, बङ्गुर तथा माछापालनमा संलग्न किसानका लागि बीमा उपयोगी हुँदै आएको छ।
