पेरिस । फ्रान्समा माध्यमिक विद्यालयका विद्यार्थीले सुरु गरेको आन्दोलन करिब दुई महिना पुगिसक्दा पनि मत्थर भएको छैन, बरु विरोधको लहर युरोपभर फैलिएको छ।
सेप्टेम्बरको मध्यतिर खचाखच भरिएका कक्षाकोठा, शिक्षकको अभाव र जीर्ण विद्यालय भवनको विरोधमा विद्यार्थीले आन्दोलन थालेका थिए। त्यसपछि यो बढ्दो महँगी, न्यून ज्याला र आवासको अभावविरुद्धको व्यापक प्रदर्शनमा बदलियो, जसमा ट्रेड युनियन र येलो भेस्ट आन्दोलन पनि जोडिए। आर्म्ड कन्फ्लिक्ट लोकेसन एन्ड इभेन्ट डेटा (एसीएलईडी) को विश्लेषणअनुसार सेप्टेम्बर १५ देखि अक्टोबर ३० सम्म फ्रान्सभर एक हजार दुई सयभन्दा बढी प्रदर्शन र दङ्गा भएका छन्।
शनिबार पेरिसमा ४६ हजारसहित देशभर एक लाख ४६ हजार मानिस सडकमा उत्रिएको गृह मन्त्रालयले जनाएको छ। ट्रेड युनियनहरूले भने देशभर दुई लाख ५० हजार र पेरिसमा ७५ हजार सहभागी भएको दाबी गरेका छन्। अक्टोबर १७ मा मात्रै देशभर पाँच लाखभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएका थिए।
एसीएलईडीकी प्रमुख कार्यकारी क्लियोना रालीका अनुसार विगत पाँच वर्षमा फ्रान्समा दैनिक औसत २० दशमलव ५ प्रदर्शन हुने गरेकामा हालको चक्रमा त्यो सङ्ख्या बढेर दैनिक करिब ६६ पुगेको छ। आन्दोलन ४५ दिन पुगिसकेको छ र अझै जारी छ। यसपालि करिब एक चौथाइ अर्थात् २४ दशमलव २ प्रतिशत घटना दङ्गाका रूपमा दर्ता भएका छन्, जबकि अघिल्ला चक्रमा औसत एक दशमलव ९ प्रतिशत मात्र दङ्गामा वर्गीकृत हुने गर्थ्यो।
प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठी प्रयोग गरेकोमा आलोचना भएको छ। अक्टोबर २८ मा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्बाट नियुक्त चार विज्ञले विद्यार्थी प्रदर्शन तितरबितर पार्न अत्यधिक बल प्रयोग भएकोमा गम्भीर चिन्ता व्यक्त गरेका थिए। उत्तरी सहर लिलमा झडपका क्रममा ग्रेनेड विस्फोट हुँदा एक किशोरले आफ्नो हात गुमाएका छन्।
फ्रान्सपछि स्पेनमा १७३, इटालीमा १६०, जर्मनीमा ७० र पोर्चुगलमा ३३ प्रदर्शन भएका छन्। स्पेनमा अक्टोबर २ मा संसद्ले दुईवटा आपतकालीन आवास अध्यादेश अस्वीकृत गरेपछि दशौँ हजार मानिस सडकमा उत्रिएका थिए, जसले प्रधानमन्त्री पेड्रो सान्चेजको अल्पमत सरकारलाई धक्का पुर्याएको थियो।
