भारतको सीजेपी (ककक्रोच जनता पार्टी) का नेता अभिजीत दीपक दिल्लीमा पुनः नियन्त्रणमा परेको दाबी गरिएको छ। शुक्रबार तिरंगा मार्चका क्रममा दिल्ली प्रहरीले उनलाई नियन्त्रणमा लिएको सो पार्टीले जनाएको हो।
सीजेपीकी कानुनी प्रमुख रत्ना सिंहले दीपक नियन्त्रणमा परेको जानकारी दिँदै उनलाई एसईएम अदालतमा पेस गरिने बताएकी छन्। तर, प्रहरीले उनलाई कहाँ राखेको छ भन्नेबारे अहिलेसम्म कुनै जानकारी नदिएको र वकिलहरूलाई समेत भेट्न अनुमति नदिइएको सिंहको दाबी छ।
समाचार संस्था बार एन्ड बेन्चका अनुसार दिल्ली प्रहरीले दीपकलाई भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १२६ र १७० अन्तर्गत नियन्त्रणमा लिएको जनाएको छ।
पछिल्लो छ दिनमा दीपक दोस्रोपटक नियन्त्रणमा परेका हुन्। यसअघि अक्टोबर १० मा जन्तरमन्तरमा हुन लागेको प्रदर्शनअघि उनलाई विमानबाटै नियन्त्रणमा लिइएको थियो। तर, भोलिपल्ट उनलाई रिहा गरिएको थियो।
यसैबीच, सीजेपीसँग आबद्ध आशुतोष रांका र सौरभ दास भने तिहाड जेलमा न्यायिक हिरासतमा छन्। दिल्लीको विशेष अदालतले अक्टोबर १३ मा उनीहरूलाई पाँच दिनका लागि न्यायिक हिरासतमा पठाएको थियो। उनीहरूलाई सोही दिन बिहान जन्तरमन्तरमा प्रदर्शन गरिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो।
