काठमाडौं । दसैँको बिदामा पनि अस्पतालहरूका अत्यावश्यक स्वास्थ्य सेवा नरोकिने भएको छ। स्वास्थ्य मन्त्रालयले बिदाका दिनहरूमा आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ।
प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै सङ्घीय सरकारी अस्पताललाई पठाइएको निर्देशनमा बिदाको अवधिमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न भनिएको छ। आवश्यक स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन गरेर अत्यावश्यक सेवा कुनै पनि हालतमा अवरुद्ध हुन नदिन मन्त्रालयले ताकेता गरेको हो।
साथै औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थ र अन्य स्वास्थ्य सामग्री पर्याप्त मौज्दातमा राख्न अस्पतालहरूलाई भनिएको छ। सेवाका क्रममा देखिने समस्या र गुनासो तत्काल सम्बोधन गर्न प्रत्येक अस्पतालले एक जना सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था गरिएको छ।
तोकिएका सम्पर्क व्यक्तिको नाम, पद, सम्पर्क नम्बर र ड्युटी रोस्टर मन्त्रालयले तोकेको इमेल ठेगानामा पठाउन पनि निर्देशनमा उल्लेख छ। दसैँ बिदाभर नागरिकले सहज रूपमा आवश्यक स्वास्थ्य सेवा पाउने सुनिश्चित गर्न निर्देशनको प्रभावकारी कार्यान्वयन र अनुगमन गर्न मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ।
