झापाको शिवसताक्षी नगरपालिका–१० ट्याक्रममा यतिबेला बारीभरि सयपत्री फुलेका छन्। स्थानीय महिलाले सामूहिक रूपमा गरेको खेतीको यही फूलले तिहारमा राम्रो आम्दानी दिने आशा उनीहरूमा पलाएको छ। छ कठ्ठा जमिनमा १० हजार बिरुवा हुर्काइएको छ, जसमा करिब २५ हजार रुपैयाँ लगानी परेको छ।
कृषक आमासमूहकी संयोजक कविता बस्नेतका अनुसार यसपालि फूल बिक्रीबाट तीन लाख रुपैयाँसम्म आम्दानी हुन सक्छ। तिहार नजिकिएसँगै समूहका सदस्य फूल टिप्ने, माला उन्ने र बिक्रीको तयारीमा जुटेका छन्। एउटा मालाको मूल्य १०० देखि १५० रुपैयाँसम्म पर्ने अनुमान छ। घरको कामसँगै आयआर्जनमा जोडिन पाएकोमा महिलाहरू उत्साहित छन्।
तर समयमै बिक्री नभए फूलको गुणस्तर घट्ने जोखिम पनि उत्तिकै छ। सम्भावित वर्षाबाट जोगाउन माला उनेर कोल्ड स्टोरमा राख्ने तयारी भइरहेको बस्नेतले बताइन्। तिहारमा पूजा, सजावट र मालाका लागि सयपत्रीको माग बढ्ने भएकाले स्थानीय उत्पादनले बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता घटाउने अपेक्षा छ।
नगरप्रमुख मेगाहाङ थोप्राले बिरुवा खरिदमा नगरपालिकाले सहयोग गरेको र खेती विस्तार तथा बजारीकरण र भण्डारणमा सहजीकरण गर्ने बताए। उपप्रमुख नरमाया कार्कीले महिलाको योजनापछि समूह गठन गर्न सुझाव दिएको र आत्मनिर्भर बन्न निरन्तर सहजीकरण भइरहेको बताइन्।
