म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव चर्किएको छ। गत असोजको दोस्रो साता आएको बाढीपहिरोले पानी ल्याउने पाइपलाइनमा क्षति पुगेपछि आपूर्ति घटेको हो। बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार बजारलाई प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी चाहिन्छ, तर अहिले प्रतिसेकेन्ड आठ लिटर मात्र आइरहेको छ।
नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार २०० घरधुरीका करिब २५ हजार बासिन्दा यो संस्थाको पानीमा निर्भर छन्। अन्नपूर्ण गाउँपालिका–८ का डाँडाखर्क र रिठाखर्कका मुहानबाट पानी ल्याउने १४ किलोमिटर लामो पाइपलाइन बाढीपहिरोले बिगारेको छ। खोरिया र खरेनीको पाखोमा पहिरो जान थालेपछि मार्ग परिवर्तन गरेर डल्लेपिपल–कालीपुल–बेनी चक्रपथ–दरवाङ बसपार्क क्षेत्रमा करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार थालिएको छ।
अहिले कोप्रेको मुहानबाट प्रतिसेकेन्ड तीन लिटर, अम्रेनीबाट तीन दशमलव चार लिटर र राहुपारेबाट चार लिटर पानी आलोपालो प्रणालीमा बाँडिँदै छ। सुक्खायाममा वैकल्पिक मुहान सुक्न थालेकाले पुरानै मुहानबाट पानी ल्याउने तयारी भइरहेको गिरीले बताए। डाँडाखर्क र रिठाखर्कका मुहानबाट प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आउने पाइपलाइन एक महिनादेखि बन्द छ।
रेडक्रस मार्गका बासिन्दा निजी मुहानको पानी प्रयोग गर्न थालेका छन्। पानी नपुग्दा विद्यार्थी, पेसाकर्मी र व्यवसायी सबै प्रभावित छन्। यसअघि नगरपालिका र विभिन्न संस्थाले ट्याङ्कर र ड्रममा पानी बाँडेका थिए। तिहारअघि बेनी–जोमसोम सडकको किनारैकिनार अस्थायी पाइपलाइनबाट राहुपारेबाट पानी ल्याउने तयारी छ। मङ्गलाघाटमा म्याग्दी नदीबाट लिफ्ट प्रविधिबाट पानी तान्ने विकल्पमा पनि पहल भइरहेको छ। तत्कालीन योजनाका लागि १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि ७० करोड रुपैयाँ चाहिने अनुमान छ। गत साता बेनी आएका पूर्वाधारमन्त्री सुनिल लम्सालसमक्ष बजेट मागिएको र उनले ठेक्कामार्फत पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको गिरीले बताए।
