काठमाडौँ । काठमाडौँको थानकोटबाट प्रहरीले भन्सार छलेर ल्याइएको करिब ६० केजी चाँदी बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार उक्त चाँदी बरामद गरेको हो ।
चाँदीको अवैध ओसारपसारमा संलग्न रहेको आरोपमा भारतीय नागरिक अमन सर्राफ पक्राउ परेका छन् । बिहारको रक्सौल घर भएका अमनले थानकोटमा अमन सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए ।
बरामद गरिएको सामान चाँदी हो कि होइन भन्ने यकिन गर्न परीक्षणका लागि पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए । बरामद सामानको परीक्षण र तौल यकिन गर्ने काम भइरहेको उनले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले अमनले मोटरसाइकलमा फल्स बटम बनाएर चाँदी ल्याउने गरेको देखाएको छ । यसअघि आइतबार मकवानपुर प्रहरीले हेटौँडाबाट १४ केजी चाँदीसहित उनका बुवा रमेश कुमार सर्राफ र आमा चन्दा सोनीलाई पक्राउ गरेको थियो । बुवा–आमा पक्राउ परेपछि प्रहरीले अमनलाई नियन्त्रणमा लिएको हो । उनको पसल र डेरा खानतलासी गर्दा भन्सार छलेर ल्याइएको चाँदी फेला परेको प्रहरीले जनाएको छ ।
