काठमाडौँ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई आर्थिक रूपमा बलियो, नाफामूलक र आत्मनिर्भर संस्थाका रूपमा उभ्याउने लक्ष्यसहित काम अघि बढाएका छन् । सोमबार सूचना तथा सञ्चार मन्त्रालयमा नियुक्तिपत्र बुझेपछि उनले आफ्नो पाँचवर्षे रणनीतिक योजना सार्वजनिक गरेका हुन् ।
पण्डितले बोर्डभित्र प्रशासनिक सुधार गर्ने, काम गर्ने वातावरण सहज बनाउने र संस्थाको आम्दानी बढाएर दीर्घकालीन आर्थिक स्थायित्व सुनिश्चित गर्ने प्रतिबद्धता जनाए । कुनै पनि संस्थाका लागि आत्मनिर्भरता सबैभन्दा महत्वपूर्ण हुने भन्दै उनले बोर्डलाई नाफामा चल्ने संस्थाका रूपमा विकास गर्न आफ्नो ध्यान केन्द्रित रहने बताए ।
चलचित्र क्षेत्रमा १५ वर्षको अनुभव रहेको उल्लेख गर्दै उनले बोर्डमा धेरै चुनौती रहेको र प्रशासनिक क्षेत्रमा व्यापक परिवर्तन आवश्यक रहेको औँल्याए । छनोट प्रक्रियाकै क्रममा मन्त्रालयमा पाँचवर्षे रणनीतिक योजना बुझाइसकेको जानकारी दिँदै उनले बोर्डको आम्दानी वृद्धि र सरकारले तोकेका लक्ष्यअनुसार परिणाम दिने गरी विभिन्न रणनीतिमा काम गर्ने बताए ।
चलचित्र क्षेत्रसँग सम्बन्धित कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै पण्डितले आवश्यक कानुनी तथा नीतिगत व्यवस्थालाई समेटेर सरकारसँग समन्वय गर्दै योजनाअनुसार काम गर्ने विश्वास व्यक्त गरे । मन्त्रिपरिषद् बैठकले गत असोज ३० गतेको निर्णयबाट उनलाई अध्यक्षमा मनोनयन गरेको हो ।
