दशैंलाई सुरक्षित बनाउन यस वर्ष देशभर ५० हजार ४५८ प्रहरी परिचालन भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार काठमाडौं उपत्यकामा ७ हजार ६६८, कोशीमा ८ हजार १३३, मधेशमा ७ हजार २३०, बागमतीमा ४ हजार ४९९, गण्डकीमा ५ हजार १८८, लुम्बिनीमा ७ हजार ९२१, कर्णालीमा ५ हजार ३१४ र सुदूरपश्चिममा ४ हजार ५०५ प्रहरी खटिएका छन्। चाडबाडका बेला अपराधीले अवसर छोप्ने भएकाले प्रहरीलाई विशेष चनाखो हुन निर्देशन दिइएको छ।तर, नागरिकलाई सुरक्षित चाडपर्व दिने धेरै प्रहरीले आफैं भने दशैं घरबाट टाढा, ब्यारेकमै मनाउनुपर्छ। घटस्थापनाको दिन जिल्ला कार्यालयहरूले पूजाघरमा जमरा राखेका थिए, नवमीका दिन मौलो पूजा गरिनेछ र दशमीमा कार्यालय प्रमुखबाट टीका थापिने चलन छ। एकादशीमा महानिरीक्षकको हातबाट टीका थाप्ने परम्परा पनि स्थापित छ, यद्यपि त्यो बाध्यकारी छैन।दशैंको मासुका लागि सरकारले थप बजेट नदिने भएकाले मासुको जोहो कार्यालय प्रमुख वा आफैं रकम उठाएर गर्नुपर्ने बाध्यता छ। कतिपय प्रहरीले एक दशकदेखि ब्यारेकमै दशैं मनाइरहेका छन् भने परिवारले घर बोलाउँदासमेत जान नसक्दा खिन्न हुने अवस्था छ।सशस्त्र प्रहरी बलको ‘फौजीलाई कुन हो दशैं, कुन चाड तिहार’ गीतले सुरक्षाकर्मीको यही पीडा बोकेको छ। दीपक कोइरालाका शब्द र गैरे सुरेशको संगीतमा जगदीश समालले गाएको यो गीत हरेक दशैंमा गुञ्जिने गर्छ।
दशैंमा ५० हजारभन्दा बढी प्रहरी परिचालन : घरपरिवार सम्झिँदै ब्यारेकमै बित्छ धेरैको चाड
