दसैँको रमझमबीच मान्यजनबाट टीकाजमरा थाप्ने बेला पनि परदेशिने युवाको लर्को थामिएको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (दोस्रो दिन) पनि विदेश उड्ने यात्रुको चहलपहल उस्तै थियो। रोजगारी खोज्दै, उच्च शिक्षा आर्जन गर्न वा आफन्त भेट्न जाने यात्रुमध्ये धेरैजसो युवा नै थिए।
परिवारसँग चाडपर्व मनाउने परम्परा रहँदै गर्दा पनि सुनौलो भविष्य र राम्रो आयको आशमा विदेसिने क्रम बढ्दो छ। विमानस्थलमा देखिने युवा पुस्ताको भीडले नेपाली समाजको बदलिँदो आर्थिक चित्र देखाउँछ — गाउँघर रित्तिँदै, खेतबारी बाँझिँदै गएको यथार्थ यसैमा झल्किन्छ।
रोजगारीका लागि बाहिरिन लागेका सिरहाका लखनकुमार यादव स्वदेशमा पर्याप्त काम नहुँदा बाध्य भएको बताउँछन्। ‘योग्यता अनुसारको रोजगारी घरमै मिलेको भए दसैँको मुखमा परिवार छाडेर जान्थिनँ,’ उनी भन्छन्, ‘आफ्नै र परिवारको भविष्यका लागि जान लागेको हुँ।’
गुल्मीका प्रकाश खत्री पनि नेपालमा अवसर सीमित र सेवासुविधा न्यून भएको बताउँछन्। छोरालाई बिदा गर्न आएका कैलालीका ठक्कर कलेल भने विदेश रोजगारीले आर्थिक अवस्था सुधारे पनि दक्ष जनशक्तिको पलायनले कृषि, उद्योग, निर्माण र पर्यटन क्षेत्रमा दीर्घकालीन अभाव हुने चिन्ता व्यक्त गर्छन्।
