काठमाडौँ — दसैँका बेला काठमाडौँ उपत्यकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट हालसम्म तीन हजार ५८५ जना सर्वसाधारणले सहज र सुरक्षित यात्रा गरेका छन्। चाडपर्वको भीड र सार्वजनिक सवारीसाधनको अभावका बीच दुवै सुरक्षा निकायले यात्रुलाई नि:शुल्क यातायात उपलब्ध गराएका हुन्।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीका बसहरूबाट एक हजार ४०६ जनाले सेवा लिएका छन्। केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते विजयादशमीका दिन उपत्यकाका विभिन्न रुटमा तीन वटा बस निःशुल्क चलाइएका थिए। महानवमीमा ५१० जना र विजयादशमीका दिन ८९६ जनाले उक्त सेवा लिएका हुन्।
सशस्त्र प्रहरी बल नेपालले सोमबारदेखि सुरु गरेको निःशुल्क बस सेवाबाट बुधबारसम्म दुई हजार १७९ जनाले फाइदा लिएका छन्। दुई वटा बसमार्फत सञ्चालित यो सेवा शुक्रबारसम्म जारी रहनेछ। सहायक प्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सोमबार ४५०, मङ्गलबार ६१६ र विजयादशमीका दिन एक हजार ११३ जनाले निःशुल्क बस चढेका थिए।
टीका थाप्न आफन्तकहाँ जाने यात्रुलाई गन्तव्यसम्म सहज र सुरक्षित पुर्याउने उद्देश्यले दुवै सङ्गठनले केही वर्षदेखि यो सेवा सञ्चालन गर्दै आएका छन्। निःशुल्क सेवाका कारण सार्वजनिक यातायातले मनपरी भाडा असुल्नबाट पनि यात्रु बचेका सर्वसाधारणको भनाइ छ।
