फ्रान्सको राजधानी पेरिस नजिकै शुक्रबार भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ। गम्भीर घाइते हुनेमा १२ वर्षीया बालिका पनि रहेकी छन्।
घटना पेरिसको दक्षिणपश्चिममा रहेका ट्राप र नजिकैको ला भेरियर क्षेत्रमा भएको हो। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार करिब १५ मिनेटसम्म विभिन्न स्थानमा गोली प्रहार भएको थियो।
प्रत्यक्षदर्शीका अनुसार खरानी रङको रेनो क्लियो कारमा आएका एक व्यक्तिले बस्ती–बस्ती हुँदै विभिन्न स्थानमा भेटिएका मानिसमाथि गोली प्रहार गरेका थिए। ट्रापका मेयर अली रबेहले आक्रमणकारीले ट्रापस्थित पेट्रोल पम्प, स्वास्थ्य केन्द्र र बालबालिका खेल्ने स्थानमा गोली हानेको बताएका छन्। त्यसपछि उनी नजिकैको ला भेरियरतर्फ गएका थिए।
घटनामा संलग्न रहेको आशङ्कामा ३९ वर्षीय एक व्यक्तिलाई प्रहरीले नजिकैको कोनियेर क्षेत्रबाट पक्राउ गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार ती व्यक्ति प्रहरीको जानकारीमा रहे पनि गुप्तचर निकायको निगरानीमा थिएनन्।
फ्रान्सको राष्ट्रिय आतङ्कवादविरोधी अभियोजन कार्यालयले घटनालाई आतङ्कवादी गतिविधिसँग सम्बन्धित हत्याका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ। गृहमन्त्री नुनेजले पनि घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दै सोही कुरा दोहोर्याएका थिए।
मेयर रबेहले मृतक अफ्रिकी मूलका र गम्भीर घाइतेमध्ये एक उत्तर अफ्रिकी मूलका व्यक्ति रहेको उल्लेख गर्दै घटनामा जातीय तथा सम्भवतः इस्लामविरोधी मनसाय हुन सक्ने बताएका छन्। अभियोजन कार्यालयले जाति, जातीयता, राष्ट्रियता वा धर्मका आधारमा लक्षित गरी गरिएको अपराधको सम्भावनालाई समेत अनुसन्धानको दायरामा राखेको छ। प्रहरीका अनुसार आक्रमणमा पुरानो शैलीको अर्धस्वचालित हतियार प्रयोग भएको हुन सक्ने आशङ्का छ।
