दाङमा लामो समयदेखि आफ्नो नाममा जग्गा नभएका आठ भूमिहीन दलित परिवारले अन्ततः जग्गाधनी पुर्जा पाएका छन्। जिल्ला भूमि समस्या समाधान समिति दाङले उनीहरूलाई लालपुर्जा वितरण गरेको हो।
समितिका अनुसार गढवा गाउँपालिका–३ (साविक गोवरडिया गाविस वडा नं ६ ख) का पाँच परिवार, लमही नगरपालिका–३ (साविक सोनपुर ५क) का दुई परिवार र राप्ती गाउँपालिका वडा नं १ (साविक लालमाटिया ३त) का एक परिवारले पुर्जा पाएका हुन्। वर्षौंदेखि बसोबास गर्दै आए पनि आफ्नो नाममा जग्गाको स्वामित्व नहुँदा उनीहरू कानुनी रूपमा जग्गाधनी बन्न सकेका थिएनन्।
पुर्जा पाएसँगै उनीहरू अब कानुनी रूपमा जग्गाधनी बनेका छन्। यसले उनीहरूको बसोबासको सुरक्षासँगै आर्थिक भविष्यमा पनि स्थायित्व ल्याउने अपेक्षा गरिएको छ। जग्गाको स्वामित्व पाएपछि उनीहरूले बैंक ऋणदेखि सरकारी सुविधासम्म सहजै पहुँच पाउन सक्नेछन्।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। उनीहरूलाई दीर्घकालीन रूपमा कानुनी रूपमा जग्गाधनी बनाउने लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको समितिले जनाएको छ।
