काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० मा रहेको सुन्डीखोलामाथि नयाँ पुल बनेको छ। एक करोड ७९ लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको यो पुल अब सञ्चालनमा आइसकेको छ।
पुल निर्माणका लागि धुलिखेलस्थित पूर्वाधार विकास कार्यालय र रोशी गाउँपालिका–२ को एम÷एस लामा प्रगति निर्माण सेवाबीच ठेक्का सम्झौता भएको थियो। निर्माण कार्य १७ महिनामा पूरा भएको कार्यालयका लेखा प्रमुख केशव पोखरेलले बताए।
धुलिखेल नगरपालिका–१० का वडाध्यक्ष गोविन्दप्रसाद भण्डारीका अनुसार त्यस क्षेत्रमा सवारीसाधनको चाप निरन्तर बढिरहेकाले पुल आवश्यक थियो। पुल सञ्चालनमा आएसँगै आवागमन सहज र सुरक्षित भएको छ।
स्थानीय किसानले आफ्नो उत्पादन बजारसम्म पुर्याउन पनि अब सजिलो भएको छ। पुलले क्षेत्रको आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ।
पुल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा र उक्त मार्ग हुँदै यात्रा गर्ने यात्रुले सहजता महसुस गर्ने भएका छन्। एम्बुलेन्सजस्ता आपतकालीन सेवा सञ्चालनमा पनि पुलले सहयोग पुर्याउने अपेक्षा छ।
