कालिकोट — सामान्य उपचारदेखि विशेषज्ञको सल्लाह लिन घण्टौँ हिँड्नुपर्ने कालिकोटको दुर्गम बस्तीमा एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भएको छ। खाँडाचक्र नगरपालिका–११ मा २०८३ कात्तिक १८ गते भएको शिविरबाट २८४ जना नागरिकले सेवा पाएका छन्। रेङ्गिल युनाइटेड क्लब फर सोसियल अवेयरनेसले आयोजना गरेको शिविरमा कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरले सहयोग गरेको थियो।
शिविरमा हाडजोर्नी तथा नसा रोग, मनोरोग, रेडियोलोजी, जनरल फिजिसियन, जनरल सर्जरी र स्त्रीरोग गरी ६ विधाका विशेषज्ञ चिकित्सकले सेवा दिए। हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. रूपक कँडेल, मनोरोग विशेषज्ञ डा. सुशील समदर्शी, कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. सुशील भण्डारी, जनरल फिजिसियन डा. खेमनारायण चालिसे, जनरल सर्जन डा. टेकबहादुर खड्का र स्त्रीरोग विशेषज्ञ डा. दुर्गा थापाले बिरामीको परीक्षण, परामर्श र आवश्यक उपचार गरे।
दुर्गम भूगोल, कमजोर आर्थिक अवस्था र स्वास्थ्य संस्थासम्मको कठिन पहुँचका कारण धेरै नागरिकले सामान्य समस्या पनि समयमै जाँच गराउन सकिरहेका छैनन्। विशेषगरी हाडजोर्नी, नसा, मानसिक स्वास्थ्य र महिलासम्बन्धी रोगको विशेषज्ञ सेवा लिन टाढा जानुपर्ने बाध्यता छ। डा. कँडेलले ग्रामीण क्षेत्रमा हाडजोर्नी र नसासम्बन्धी समस्या समयमै पहिचान गर्नु आवश्यक रहेको बताए। डा. समदर्शीले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्यजत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे।
शिविरमा आएका स्थानीयले आफ्नै गाउँमा विशेषज्ञ सेवा पाउँदा समय र खर्च दुवै बचेको बताए। आर्थिक अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक र टाढा यात्रा गर्न नसक्ने बिरामीलाई यस्ता शिविर उपयोगी हुने उनीहरूको भनाइ छ। शिविरमा अस्पतालले आधारभूत वडा स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरेको छ। क्लबका सचिव अग्र रोकायाका अनुसार जिल्लामै पहिलोपटक एउटै शिविरमा ६ जना विशेषज्ञ चिकित्सक सहभागी भएका हुन्।
