धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटमा शङ्कास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते भएका छन् । त्रिशूली नदी किनारमा भेटिएको उक्त वस्तु कोठामा ल्याएर फुटाउने प्रयास गर्दा विस्फोट भएको हो ।
सोमबार दिउँसो साढे एक बजेतिर सरस्वती खड्काको घरमा कोठा भाडामा बस्दै आएका काभ्रे ढुङखर्क गाउँपालिका–९ का कान्छा परियार (अन्दाजी ५३ वर्ष) ले आफ्ना दुई छोरा — जंगे परियार (२६) र रामचन्द्र परियार (२४) सँग मिलेर उक्त वस्तु नदी किनारबाट उठाएर ल्याएका थिए । वस्तुलाई फुटाउने क्रममा अचानक विस्फोट हुँदा उछिट्टिएका छर्राले लागेर दुवै छोराको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरीक्षक सुरज कार्कीको कमान्डमा टोली घटनास्थल पुगेको थियो । घाइते दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ । विस्फोट भएको वस्तु के थियो र यो कसरी नदी किनारमा पुग्यो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
