प्रमुख फ्रान्सेली शहरहरूमा शनिबारदेखि चलेको प्रदर्शन आइतबार हिंसात्मक बन्दा राष्ट्रपति इम्मानुएल म्याक्रोंले गृहमन्त्री लरेन्ट नुनेजको राजीनामा अस्वीकार गरेका छन्। व्यापक लुटपाट र तोडफोडको जिम्मेवारी लिँदै नुनेजले पेस गरेको राजीनामा राष्ट्रपतिले फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। म्याक्रोंले उनलाई पदमै रहेर प्रहरी प्रशासनको नेतृत्व सम्हाल्न निर्देशन दिएका छन्।
जीवनयापन लागत वृद्धिको विरोध, शिक्षा क्षेत्रको कमजोरी र कमजोर अर्थतन्त्रका विषयमा शनिबार सुरु भएको देशव्यापी प्रदर्शनले आइतबार उग्र रूप लिएको थियो। उग्र भीडले पेरिस, लियोन र मार्सेली लगायतका शहरहरूमा सवारी साधनमा आगो लगाउनुका साथै व्यावसायिक प्रतिष्ठान, सरकारी कार्यालय, ऐतिहासिक धरोहर, निजी आवास र प्रहरी चौकीहरूमा तोडफोड र लुटपाट गरे। मध्य फ्रान्सको लिमोजमा १९औं शताब्दीको ऐतिहासिक सिटी हलमा आगजनी भएपछि भवनको छाना भत्किएर भवन लगभग नष्ट भएको छ।
पेरिस चेम्बर अफ कमर्सका अनुसार पेरिसमा मात्र ३०० देखि ४०० वटा व्यवसाय प्रभावित भएका छन्। हिंसामा संलग्न रहेको आरोपमा देशभर करिब २,४०० जना पक्राउ परेका छन् भने पेरिसमा ७०० भन्दा बढी व्यक्ति प्रहरी हिरासतमा छन्। प्रमुख शहरका मेयरहरूले सम्भावित हिंसाको मूल्याङ्कनमा सुरक्षा निकाय असफल भएको आरोप लगाएका छन्।
६० हजार सुरक्षाकर्मी परिचालन गर्दा पनि केही शहरमा स्थिति नियन्त्रण बाहिर गएको थियो। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले केही शहरमा आंशिक कर्फ्यू लगाउन निर्देशन दिएका छन्। म्याक्रोंले गुप्तचर निकायको असफलताबारे पारदर्शी छानबिन गर्न र नयाँ सुरक्षा रणनीति लागू गर्न आन्तरिक मामिलामन्त्रीलाई निर्देशन दिएका छन्।
यसैबीच इन्धनको बढ्दो मूल्य कम गर्न थप पेट्रोल र डिजेल आपूर्ति सुरक्षित गर्ने उद्देश्यले म्याक्रों खाडी क्षेत्रको भ्रमणमा निस्केका छन् र हाल कुवेतमा छन्। आगामी राष्ट्रपति निर्वाचनको करिब छ महिना अघि भएको यस हिंसाले म्याक्रों सरकारमाथि थप राजनीतिक दबाब बढाएको छ।
