यमनको दक्षिणी प्रान्त शबवामा रहेको सरकारी सेनाको सैन्य शिविरमाथि हुथी विद्रोहीले गरेको मिसाइल आक्रमणमा कम्तीमा २० जना सैनिकले ज्यान गुमाएका छन् । आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएको बताइएको छ ।
यमनी सेनाका दुई अधिकारीका अनुसार इरान समर्थित हुथी लडाकुहरूले सोमबार शबवास्थित ‘अल-आलम’ शिविरलाई निशाना बनाएर ब्यालेस्टिक मिसाइल प्रहार गरेका थिए । ती अधिकारीहरूसँग घटनाबारे आधिकारिक रूपमा बोल्ने अनुमति नभएकाले नाम उल्लेख नगर्ने सर्तमा उनीहरूले जानकारी दिएका हुन् ।
पछिल्ला दिनमा यमनमा देखिएका द्वन्द्वका घटनामध्ये यो आक्रमणलाई सबैभन्दा घातकमध्ये एक मानिएको छ । इरान र संयुक्त राज्य अमेरिकाबीचको व्यापक टकरावले क्षेत्रीय तनाव उकालो लागेसँगै केही महिनायता यमनमा पनि लडाइँ थप तीव्र भएको हो । हुथी विद्रोही र साउदी अरब समर्थित सरकारी सेनाबीच बढ्दो तनावले सन् २०२२ मा भएको युद्धविरामलाई कमजोर बनाउँदै गएको विश्लेषण छ । उक्त युद्धविरामले यमनको गृहयुद्धमा जारी लडाइँ धेरै हदसम्म नियन्त्रणमा राख्न सहयोग गरेको थियो ।
यसैबिच हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले साउदी नेतृत्वको गठबन्धनले गरेको भनिएको हवाई आक्रमणमा आइतबार उत्तरी प्रान्त सादामा कम्तीमा नौ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा पाँच बालबालिका र दुई महिला रहेका छन् । हुथी विद्रोहीका अनुसार सप्ताहान्तमा भएका यस्तै अन्य आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु भएको छ वा उनीहरू घाइते भएका छन् । यी घटनाबारे साउदी अरबले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।
