कर्णाली प्रदेशमा चाडपर्वको समयमा हुने सडक दुर्घटना र आपराधिक गतिविधि रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरेर रात्रीकालीन ट्राफिक अभियान सञ्चालन गरिएको छ। प्रदेश प्रहरीले दसैँ, तिहार र छठलाई लक्षित गर्दै ‘सुरक्षा योजना–२०८३’ लागू गरेर जम्मा १ हजार ४६२ ड्युटीमा ५ हजार ३१४ जना प्रहरी खटाएको छ।
कर्णालीमा कुल ५ हजार ५०७ जना प्रहरी जनशक्ति रहेकामध्ये ९६ प्रतिशतलाई चाडपर्व सुरक्षा ड्युटीमा प्रत्यक्ष खटाइएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सापकोटाले जानकारी दिए। असोज २५ गतेदेखि लागु भएको यो योजना कात्तिक ३० गते छठ पर्वपछि समाप्त हुनेछ।
प्रदेशभर २८ वटा मोबाइल गस्ती, ९८ वटा मोटरसाइकल गस्ती, ६० वटा क्विक रेस्पोन्स टिम र दुर्गम क्षेत्रसहित १४८ वटा पैदल गस्ती टोली परिचालन गरिएको छ। २०४ वटा गस्ती र १७६ स्थानमा पिकेट राखिने, ६७ स्थानमा सवारीसाधनको चेकजाँच तथा ४७ स्थानमा ट्राफिकसहितको संयुक्त चेकजाँच हुने व्यवस्था गरिएको छ।
अभियानकै क्रममा प्रदेश राजधानी वीरेन्द्रनगरमा मध्यरातमा भएको आकस्मिक ट्राफिक चेकिङमा २०० भन्दा बढी सवारी चालक कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहित कुमार शाहीका अनुसार बेलुका ६ देखि १० र राति १० देखि २ बजेसम्म दुई सिफ्टमा चेकजाँच भइरहेको छ। मापसे र कागजपत्र परीक्षणमा असफल भएकालाई नियन्त्रणमा लिई मुद्दा चलाइएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी मुकुन्दप्रसाद रिजालका अनुसार यो अभियान कर्णालीका १० वटै जिल्लाका सहरी र मुख्य बजार क्षेत्रमा सञ्चालन भइरहेको छ। रातभर ट्राफिक चेकजाँच हुँदा चोरी, लुटपाट र डकैतीका घटना पनि घट्ने प्रहरीको दाबी छ। जुवा, तास, डाइस, लङ्गुर बुर्जा, कौडा र अनलाइन सट्टेबाजीलाई पूर्ण नियन्त्रण गर्ने नीति पनि योजनामा समेटिएको छ।
