जिल्ला प्रहरी कार्यालय पर्साले असोज महिनामा अपराध नियन्त्रण र अवैध कारोबारविरुद्ध चलाएको अभियानका क्रममा २४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । भन्सार छली गरेर ल्याइएका करिब ७५ लाख ४४ हजार रुपैयाँ बराबरका सामान पनि बरामद गरिएका छन् ।
कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार असोजमा लागुऔषधसम्बन्धी १६ मुद्दा दर्ता भएका छन् । पक्राउ परेकाहरूबाट ३८ किलो ५ सय ८ ग्राम गाँजा, १ सय ७१ ग्राम ७ सय ९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६ सय ४० मिलिग्राम अफिम बरामद भएको छ ।
अवैध हातहतियार नियन्त्रण अभियानका क्रममा पाँच थान हतियार र ६ राउन्ड गोली फेला परेका छन् । अवैध मदिरा नियन्त्रणमा ४ हजार १ सय ७६ लिटर तयार मदिरा र ६ हजार ६ सय ५ लिटर कच्चा पदार्थ बरामद भएको छ । यस क्रममा एक जना पक्राउ परेका छन् भने मदिरा उत्पादन गर्ने दुई भट्टी नष्ट गरिएका छन् ।
प्राकृतिक स्रोतको अवैध दोहनविरुद्ध बालुवा, ढुङ्गा र गिट्टी ओसारपसारमा प्रयोग भएका १९ ट्याक्टर नियन्त्रणमा लिएर ९५ हजार रुपैयाँ जरिवाना गरिएको छ । अवैध वन पैदावार ओसारपसारमा संलग्न सात जना पक्राउ परेका छन् र उनीहरूबाट १४ साइकल र ५४ घनफिट काठ बरामद गरिएको छ, जसबाट ३ लाख ११ हजार ६ सय रुपैयाँ राजस्व तथा जरिवाना प्राप्त भएको छ ।
समग्र तथ्याङ्कअनुसार असोजमा जिल्लाभर १ सय ११ अपराधका घटना दर्ता भएका छन् । तीमध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीका ९, ज्यानसम्बन्धी ८, महिला तथा बालबालिकासम्बन्धी ६ र आत्महत्याका ४ घटना छन् ।
प्रहरीले सो अवधिमा चालु मुद्दाका १ सय २० प्रतिवादी पक्राउ गरेको जनाएको छ । फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयन अभियानअन्तर्गत १ सय ३ जनालाई पक्राउ गरिएको छ । उनीहरूबाट ४० वर्ष ११ महिना १२ दिन कैद र २ करोड ७१ लाख १२ हजार ४ सय ४२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने विवरण सार्वजनिक गरिएको छ ।
घरेलु हिंसातर्फ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ३९ उजुरी परेका थिए र सबैमा मिलापत्र गराइएको छ । सवारी दुर्घटनातर्फ ४० दुर्घटना हुँदा २ जनाको मृत्यु र ३१ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३ सय ४४ सवारीसाधनमाथि कारबाही गरी १६ लाख ३६ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरिएको छ ।
