२ कात्तिक । अस्ट्रेलियाकी स्वतन्त्र सांसद हेलेन हेन्स आफ्नै निर्वाचन क्षेत्रको कार्यालयबाहिर कारको ठक्करबाट गम्भीर घाइते भएकी छन्। सोमबार भएको घटनापछि उनलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको हो।
६५ वर्षीया हेन्समाथि ठक्कर दिने टोयोटा ल्यान्ड क्रुजरका ४३ वर्षीय चालकलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई जानाजान निशाना बनाइएको हुन सक्ने प्रहरीको आशङ्का छ र अनुसन्धान अगाडि बढाइएको छ। पक्राउ परेका व्यक्तिको गाडीभित्रबाट एउटा चक्कु पनि बरामद भएको प्रहरीले जनाएको छ।
घटना भिक्टोरिया राज्यको वाङ्गाराटा सहरमा भएको हो, जुन मेलबर्नबाट करिब तीन घण्टा टाढा पर्छ। प्रहरीका अनुसार हेन्स आफ्नो कार्यालयबाहिर निस्किँदा उनलाई गाडीले हानेको थियो।
प्रधानमन्त्री एन्थोनी अल्बानिजले घटनाको कारण अहिल्यै आँकलन गर्नु हतार हुने बताएका छन्। अनुसन्धानमा आतङ्कवाद निरोधक टोली पनि सहभागी हुने उनले जानकारी दिए। एबीसी टेलिभिजनको ‘७३०’ कार्यक्रममा अन्तर्वार्ताका क्रममा अल्बानिज भावुक समेत बनेका थिए। उनले हेन्सलाई इमानदार र समुदायप्रति समर्पित नेताका रूपमा स्मरण गरे।
भिक्टोरिया प्रहरीका कार्यवाहक सुपरिटेन्डेन्ट एस्ले मेसनले सर्वसाधारणका लागि हाल कुनै थप खतरा नरहेको स्पष्ट पारेका छन्। सांसद हेन्सको परिवारले फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै तत्काल उद्धारमा जुटेका सर्वसाधारण, स्वास्थ्यकर्मी र प्रहरीप्रति आभार व्यक्त गरेको छ।
