२ कात्तिक । भारतीय फिल्म ‘उड्ता तीर’ (Udta Teer) लाई नेपालमा सार्वजनिक प्रदर्शनको अनुमति नदिइएको छ। सूचना तथा सञ्चार मन्त्रालयले वितरक नेसनल सिने ग्रुप नेपाल प्रा. लि. लाई पत्र पठाएर फिल्म प्रदर्शनको अनुमति दिन नसकिने जानकारी दिएको हो।
मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाको पत्रमा फिल्मको विषयवस्तु चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०८१ को दफा ८(३) ले निषेध गरेको विषयसँग सम्बन्धित रहेको उल्लेख छ। केही दिनअघि केन्द्रीय चलचित्र जाँच समितिले फिल्मको अवलोकन गरेपछि उक्त निर्णय भएको हो।
निर्देशक आकाश कौशिक निर्देशित यो स्पाई कमेडीमा आयुष्मान खुराना र सारा अली खानको अभिनय छ। शुक्रबार (कात्तिक ६) देखि भारतसँगै नेपालमा पनि एकैसाथ रिलिज हुने तयारी थियो।
फिल्ममा आयुष्मानले पाकिस्तानी गुप्तचर बिलाल अहमदको भूमिका निर्वाह गरेका छन्। भारतमा स्मरणशक्ति गुमाएपछि बिलाल आफ्नो पहिचान र मिसन नै बिर्सन्छन् र भारत-पाकिस्तान सीमानजिकै अलपत्र पर्छन्। आफूलाई भारतीय ठान्न थालेका बिलाल अप्रत्याशित घटनाक्रममा फस्छन्, र जासुसी, दुई देशबीचको राजनीतिक तनाव अनि हास्य प्रसङ्गमार्फत कथा अगाडि बढ्छ।
यही भारत-पाकिस्तान सम्बन्धसँग जोडिएको विषयवस्तुलाई कारण देखाउँदै फिल्मको प्रदर्शन रोकिएको हो। यसअघि नै केन्द्रीय चलचित्र जाँच समितिले मित्रराष्ट्रहरूसँगको सम्बन्धमा असर पार्न सक्ने विषयवस्तु भएका फिल्मलाई नेपालमा सार्वजनिक प्रदर्शनको अनुमति नदिने निर्णय गरेको थियो।
