जनकपुरधामको ऐतिहासिक राजदेवी मन्दिरमा यस वर्षको बडादसैँमा झन्डै पन्ध्र हजार बोकाको बलि दिइएको छ । महाअष्टमीको अवसरमा आइतबार रातिदेखि सोमबार बिहानसम्म गरी कुल १४ हजार ८९१ वटा बोका बलि चढाइएको महावीर युवा कमिटी जनकपुरधामका अध्यक्ष दीपककुमार साहले जानकारी दिए ।
साहका अनुसार देवीप्रति आस्था राख्ने श्रद्धालु र भाकल गरेका भक्तजनले धार्मिक परम्परा अनुसार बोका बलि चढाएका हुन् । बलि दिने काम व्यवस्थित होस् भनेर कमिटीले मन्दिर परिसरमा चारवटा स्थान तोकेको थियो । अघिल्लो वर्ष २०८२ सालको विजयादशमीमा १४ हजार ९०३ वटा बोकाको बलि दिइएको थियो ।
बलि सुरु हुनुअघि राममन्दिरका पुजारी महन्तराम गिरीले निशा पूजा गरेका थिए । महाअष्टमीको रात राजदेवी मन्दिरमा दर्शन र पूजाआजाका लागि छिमेकी देश भारतबाट पनि ठूलो सङ्ख्यामा श्रद्धालु आउने गरेका छन् ।
भिडभाड व्यवस्थित पार्न र सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष सुरक्षा योजना लागू गरेको छ । प्रहरी उपरीक्षक रूपेश खड्काका अनुसार यस वर्षको बडादसैँमा धनुषा जिल्लाभर ७० वटा पिकेट, ४६ वटा पैदल गस्ती, सातवटा बजार अनुगमन टोली, सातवटा विशेष अपरेसन टोली, १५ वटा विपद् प्रतिकार्य टोली र १३ वटा सवारीसाधन तथा मोबाइल टोली खटाइएको छ । लामो दूरीका सवारीसाधन जाँच, बैङ्क तथा सुनचाँदी पसल निगरानी र मोटरसाइकल चोरी नियन्त्रणलाई पनि प्रहरीले विशेष ध्यान दिएको छ ।
