काठमाडौं — नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले कुनै पनि विषयमा निष्पक्ष छानबिन गरेर परिणाम दिनुपर्ने बताएका छन् । छानबिन आनन्द, प्रतिशोध वा पूर्वाग्रहका लागि नभई न्याय, सत्य र जवाफदेहिताका लागि हुनुपर्ने उनको भनाइ छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले आफूहरू विधिको शासन र निष्पक्षताको पक्षमा रहेको उल्लेख गरेका छन् । बिचौलिया पनि राज्यको नियमन र नियन्त्रणभित्र हुनुपर्ने उनले बताएका छन् ।
सम्बन्धित निकायलाई दिइएको जिम्मेवारी पूरा गरेर परिणाम दिन उनले आग्रह गरेका छन् । विषयान्तर गरेर जिम्मेवारीबाट पन्छिन नहुने उनको भनाइ छ । कुनै पनि छानबिनको उद्देश्य सत्य उजागर गर्नु र जवाफदेही बनाउनु हुनुपर्ने उनले बताएका छन् ।
छानबिनमा व्यक्तिगत रागद्वेष वा पूर्वाग्रह मिसिँदा त्यसले न्यायको प्रक्रियालाई कमजोर बनाउने उनको भनाइ छ । त्यसैले सम्बन्धित निकायले आफूलाई सुम्पिएको काम निष्ठापूर्वक सम्पन्न गर्नुपर्ने र त्यसको नतिजा सार्वजनिक गर्नुपर्ने उनले बताएका छन् ।
भण्डारीले भनेका छन्, ‘छानबिन गर । प्रश्न आनन्द, प्रतिशोध वा पूर्वाग्रहका लागि होइन—न्याय, सत्य र जवाफदेहिताका लागि हो । हामी विधिको शासन र निष्पक्षताको पक्षमा छौँ । बिचौलिया पनि राज्यकै नियमन र नियन्त्रणभित्र छन् । दिएको जिम्मेवारी पूरा गर, परिणाम देऊ; विषयान्तर होइन ।’
