नेपालमा भएको जेनजी आन्दोलन र भारतमा अहिले जारी आन्दोलन एउटै शक्तिले गराइरहेको दाबी गरिएको छ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवसँगको भेटमा यस्तो धारणा राखेका हुन्।
नेपालमा जेनजी आन्दोलनपछि चुनावमार्फत नयाँ सरकार बनेको छ भने भारतमा पनि यस्तै आन्दोलन सुरु भएको छ। नेपाल र भारतका कतिपय जानकारहरूले बङ्गलादेशपछि नेपालमा भएको आन्दोलन भारतमा सरेको बुझाइ राखेका छन्। अध्यक्ष नवीनले दुवै देशका आन्दोलन एउटै शक्तिले गराइरहेको भन्दै त्यसको सामना दुवै मिलेर गर्नुपर्ने बताएका छन्। उनले त्यो शक्ति कुन हो भन्ने भने खुलाएका छैनन्।
भेटमा नेपाल र भारतका राजनीतिक, सामाजिक र आर्थिक समस्याहरू एउटै प्रकृतिका रहेकाले त्यसको समाधान पनि दुवै देश मिलेर गर्नुपर्ने धारणा राखिएको छ। छलफलमा सहभागी एक नेताका अनुसार दुवै देशबिचको द्विपक्षीय सम्बन्ध, समसामयिक राजनीतिक तथा सामाजिक अवस्था र साझा सनातन सभ्यताको ऐतिहासिक महत्त्वबारे पनि कुराकानी भएको छ।
राष्ट्रिय एकता दलका अध्यक्ष यादवले आगामी मङ्सिर ४ गतेदेखि नेपालमा हिन्दु सुरक्षा र हिन्दु राष्ट्र मुख्य एजेन्डासहित मेची–महाकाली पदयात्रा सञ्चालन गर्ने तयारी गरिरहेका छन्। त्यसको तयारीका लागि उनले भारतीय राजनीतिक नेतृत्वसँग भेटघाट र संवाद अघि बढाएका हुन्। भेटमा खुला सीमा, पारिवारिक सम्बन्ध, व्यापार, पर्यटन र जनस्तरको आवागमनजस्ता विषयमा पनि छलफल भएको जनाइएको छ।
