राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादमा परेका न्यायाधीशहरूमाथि कसरी कारबाही अगाडि बढाउने भन्नेबारे पार्टीका सांसदहरूसँग छलफल गरेका छन्। सम्पत्ति शुद्धीकरणको मुद्दामा थुनामा रहेका इनम सापकोटासँग सम्पर्क गरेको आरोप लागेपछि केही न्यायाधीशहरू विवादमा परेका छन्। त्यही विषयमा सभापति लामिछानेले कानुन पृष्ठभूमि भएका पार्टीका सांसदहरूलाई बोलाएर छलफल गरेका हुन्।
छलफल शुक्रबार लामिछानेको बूढानीलकण्ठस्थित निवासमा भएको थियो। बैठकमा सहभागी एक सांसदका अनुसार छलफलमा महाभियोगको सम्भावनाबारे कुरा भएको थियो। सभापति लामिछानेले महाभियोग लगाउन सकिने आधार कति बलियो छ भनेर सांसदहरूलाई सोधेका थिए। महाभियोग लगाउन पर्याप्त आधार र प्रमाण छ कि छैन र कति बलियो छ भन्ने जिज्ञासा उनले राखेको ती सांसदले बताए।
छ भने जाऔं, होइन भने पूर्वाग्रहको ढंगबाट कसैविरुद्ध नजाने भन्ने सभापति लामिछानेको भनाइ रहेको ती सांसदले जानकारी दिए। सांसदहरूले भने त्यस विषयमा थप अध्ययन गर्नुपर्ने जवाफ दिएका थिए।
थप अध्ययन गरेर शनिबार फेरि बैठक बस्ने तयारी थियो, तर शनिबार नै पार्टीको सचिवालय बैठक परेकाले छलफलले निरन्तरता पाउन सकेन। छलफलमा काठमाडौंमा उपलब्ध सांसदहरू मात्र सहभागी भएका थिए। उपत्यका बाहिर रहेका सांसदहरूलाई पनि बोलाइएको ती सांसदले जानकारी दिए।
