हाल देशमा पश्चिमी वायु तथा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिनभर नै यो प्रणालीको असर केही हदसम्म रहने देखिन्छ ।
अहिले देशको हिमाली क्षेत्र तथा गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । बाँकी प्रदेशका पहाडी भू-भागमा भने आंशिक रूपमा बादल छाएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही भागमा आंशिक बदली देखिए पनि बाँकी तराई क्षेत्रको मौसम मुख्यतया सफा छ । गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई ठाउँमा हाल हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज शनिबारको पूर्वानुमान अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने अन्य प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी भू-भागमा आंशिक बादलमय मौसम रहनेछ ।
मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बदली हुने अनुमान छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागको मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ ।
