आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी एकदिवसीय शृङ्खलामा नेपाली टोलीले आज बिहान आफ्नो तेस्रो खेल क्यानडाविरुद्ध खेल्नेछ । अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने प्रतिस्पर्धा बिहान ११:१५ बजेदेखि सुरु हुने तालिका छ ।
नेपालले यस शृङ्खलाका सुरुवाती दुवै खेलमा जित निकालेको छ । पहिलो खेलमा क्यानडालाई र त्यसपछि दोस्रो खेलमा घरेलु टोली ओमानलाई पराजित गर्दै नेपालले सकारात्मक सुरुवात गरेको हो ।
अंकतालिकाको अवस्थाले आजको खेललाई नेपालका लागि विशेष महत्त्वपूर्ण बनाएको छ । ३४ खेलमा २८ अंकसहित नेपाल छैटौं स्थानमा रहेको छ भने ३५ खेलमा २७ अंक जोडेको क्यानडा सातौं स्थानमा छ । बिहीबार ओमानलाई हराएको क्यानडाले यसअघि नेपाल र ओमानसँग लगातार पराजय बेहोरेको थियो ।
आजको खेलमा नेपालले क्यानडालाई जिते लिग २ मा छैटौं स्थान पक्का हुनेछ । तर आज हार व्यहोरेमा नेपालले छैटौं स्थानमा रहनका लागि सोमबारको अन्तिम खेलमा ओमानलाई हराउनैपर्नेछ ।
