दसैँ र तिहारको सिजनसँगै जोडिएको चङ्गा उडाउने परम्परा अहिले काठमाडौँसहितका सहरमा क्रमशः हराउँदै गएको छ। मोबाइल फोनको बढ्दो प्रयोग, सहरीकरण र खुला ठाउँको अभावले यो संस्कृतिलाई ओझेलमा पारेको हो। तर यही चङ्गालाई नेपालको पहिचान र खेल पर्यटनको माध्यम बनाउन सकिने विश्वास अन्तर्राष्ट्रिय चङ्गा खेलाडी प्रमेश केसीले व्यक्त गरेका छन्। ३७ देश आबद्ध वर्ल्ड काइट फेडेरेसनमा नेपालको तर्फबाट केसी एक्लै प्रतिनिधित्व गर्दै आएका छन्।
नेपालमा चङ्गा उडाउने चलन नागपञ्चमीदेखि भाइटीकासम्मको परम्परासँग जोडिएको छ। धार्मिक मान्यताअनुसार यो रावणमाथि रामको विजयको उत्सवको प्रतीक हो भने विगतमा धान पाकेको संकेत दिनसमेत चङ्गा उडाइन्थ्यो। इतिहासकारहरूका अनुसार चङ्गाको सुरुवात करिब २५ सय वर्षअघि चीनबाट भएको मानिन्छ। चीनको वाइफाङ सहरलाई ‘काइट क्यापिटल’ समेत भनिन्छ, जहाँबाट वर्षेनि लाखौँ डलरका चङ्गा निर्यात हुन्छन्।
केसीले आफैँ नेपाली लोक्ता कागज र बाँसबाट नेपालको झण्डा र चराको आकृतिका चङ्गा बनाउँछन्। चीनमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा काइट फाइटिङ विधामा फाइनल पुगेर उनले रजत पदक जितेका थिए भने उत्कृष्ट प्रदर्शन पुरस्कारसमेत पाएका छन्। विदेशी खेलाडीका चङ्गा स्थिर हुने तर नेपाली फाइटिङ काइट छिटो र चलायमान हुने उनको अनुभव छ।
सहरी क्षेत्रमा प्लास्टिक वा नाइलनको धागोले गर्दा हुने दुर्घटनाप्रति उनले सचेत गराएका छन्। भारतजस्ता देशमा यस्तो धागोमाथि कडा कानुन रहेको बताउँदै उनले सुरक्षित स्थानमा मात्र चङ्गा उडाउन आग्रह गरे।
सन् १९८९ देखि गुजरातमा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय चङ्गा महोत्सवले लाखौँ पर्यटक आकर्षित गरिरहेको उदाहरण दिँदै केसीले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा वार्षिक चङ्गा महोत्सव गर्न, विद्यालयको पाठ्यक्रममा चङ्गा बनाउने कला समेट्न र लोक्ता कागज तथा बाँसका उच्च गुणस्तरीय चङ्गा उत्पादन गरी निर्यात गर्न सके रोजगारी र डलर आर्जन हुन सक्ने बताए।
