कास्की — पोखरामा औषधि पसलको आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार भइरहेको फेला परेको छ । प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक औषधि पसलकी सञ्चालिकालाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलकी सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गाना बुधबार पक्राउ परेकी हुन् । लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले पसलमा जाँच गर्दा विभिन्न चार प्रकारका प्रतिबन्धित औषधि बरामद भएको हो ।
प्रहरीका अनुसार सञ्चालिकाको साथबाट कोडिप–पी (कोडिन) ६ हजार ४ सय चक्की, प्रेगाबालिन ४ सय ५० चक्की, लोराजेपाम १ सय ५० चक्की र क्लोर्डियाजेपोक्साइड १ सय ६० चक्की बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले विशेष सूचनाका आधारमा फार्मेसीमा छापा हानिएको बताए । उनले औषधि बिक्री–वितरणका लागि सञ्चालनमा रहेका फार्मेसीबाटै ठूलो परिमाणमा लागूऔषधजन्य औषधि बरामद हुनुले औषधिको नियमन तथा अनुगमन थप प्रभावकारी हुनुपर्ने आवश्यकता देखाएको बताए ।
पक्राउ परेकी सञ्चालिकामाथि औषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यसअघि पनि पोखरामा फार्मेसीबाट लागूऔषध कारोबार हुने गरेको फेला पर्दा प्रहरीले सञ्चालकलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको थियो ।
