काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डलाई टोलीमा आबद्ध गरेको छ ।
२८ वर्षीय बायाँहाते ब्याटर रदरफोर्ड छोटो प्रारूप क्रिकेटका खतरनाक खेलाडीका रूपमा चिनिन्छन् । मध्यक्रममा ब्याटिङ गर्ने उनले वेस्ट इन्डिजका तर्फबाट ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । एकदिवसीयमा उनले ८ सय ७३ रन बनाएका छन् भने टी–२० अन्तर्राष्ट्रियमा १ हजार १ सय २३ रन जोडेका छन् । यस प्रारूपमा उनको उत्कृष्ट प्रदर्शन ८४ रन हो ।
समग्र टी–२० करिअरमा रदरफोर्डले २ सय ८३ खेलमा ५ हजार ९० रन बनाएका छन् र ३ सय २४ छक्का प्रहार गरेका छन् । उनको ब्याटिङ स्ट्राइक रेट १ सय ४२ दशमलव ०५ छ ।
फ्रेन्चाइज क्रिकेटमा रदरफोर्डले क्यारेबियन प्रिमियर लिग, इन्डियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग, लंका प्रिमियर लिग, आईएलटी–२० र मेजर लिग क्रिकेट खेलेका छन् । उनले सन् २०२२ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट सीपीएल र सन् २०२०–२१ मा कराँची किङ्सबाट पीएसएल उपाधि जितेका थिए । आईपीएलमा उनले सन् २०२५ मा गुजरात टाइटन्सबाट १३ खेलमा २ सय ९१ रन बनाएका थिए ।
रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको अनुभव र आक्रामक खेलशैलीले टोलीको ब्याटिङ शक्ति बढाउने विश्वास व्यक्त गरे ।
