काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सले विदेशी खेलाडीको पंक्ति बलियो बनाएको छ। टोलीले पाकिस्तानका उदीयमान पेस बलर हुनेन शाहलाई अनुबन्ध गरेको घोषणा गरेको हो। उनी २२ वर्षका दायाँहाते पेसर हुन्।
हुनेन विश्व क्रिकेटमा तीव्र गतिको बलिङका लागि चर्चित पाकिस्तानी बलर नसीम शाहका भाइ हुन्। तीव्र गति र योर्करमा दक्षताका कारण उनले जनकपुरको बलिङ आक्रमण थप धारिलो बनाउने अपेक्षा गरिएको छ।
उनको तथ्यांक पनि आकर्षक छ। प्रथम श्रेणी क्रिकेटमा १५ खेल खेल्दै उनले ४० विकेट लिएका छन्। लिस्ट ए मा नौ खेलबाट १४ विकेट लिएका उनको सर्वश्रेष्ठ प्रदर्शन २६ रन खर्चेर छ विकेट हो। टी–२० फर्म्याटमा भने उनले ५२ खेलमा ६१ विकेट निकालेका छन्, जहाँ २२ रन दिएर चार विकेट उनको उत्कृष्ट प्रदर्शन हो। प्रथम श्रेणीमा उनले ८४ रन खर्चेर पाँच विकेट लिएका थिए।
जनकपुरले यस सिजनअघि नै कप्तानका रूपमा हर्मीत सिंहलाई अनुबन्ध गरिसकेको छ। त्यस्तै न्यूजिल्यान्डका अलराउन्डर जिमी नीशम टोलीमा फर्किएका छन् भने इंग्ल्यान्डका मोइन अली र पाकिस्तानका इफ्तिखार अहमदलाई पनि जनकपुरले टिममा भित्र्याएको छ।
