रियाद — यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई साउदीको हवाई प्रतिरक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको छ। साउदी नेतृत्वको गठबन्धनले शनिबार यो जानकारी दिएको हो।
गठबन्धनका प्रवक्ता तुर्की अल–माल्कीले सामाजिक सञ्जाल एक्समार्फत रियादतर्फ हानिएको मिसाइललाई प्रतिरक्षा प्रणालीले रोकेर ध्वस्त पारिएको बताएका छन्। शनिबार बिहान रियादमा दुई विस्फोटका आवाज सुनिएको एएफपीका एक पत्रकारले जानकारी दिएका छन्।
यसै दिन साउदीको पूर्वी प्रान्तमा एउटा ड्रोन पनि आकाशमै खसालिएको अल–माल्कीले बताए। सम्भावित खतराप्रति सर्वसाधारणलाई सचेत गराउन साउदीको नागरिक सुरक्षा निकायले पूर्वचेतावनी प्रणाली सक्रिय पारेको थियो।
हालका हप्तामा साउदीमाथि हुथी आक्रमण बढेका छन्। रियाद अन्तरराष्ट्रिय विमानस्थलमा भएको आक्रमणलाई पछिल्ला केही वर्षयताकै घातकमध्ये एक मानिएको छ। साउदीले आक्रमण तीव्र पार्न इरानले हुथीलाई उक्साएको आरोप लगाउँदै आएको छ, तर इरानले संलग्नता अस्वीकार गर्दै आएको छ।
जुलाईमा चार वर्षे युद्धविराम भङ्गिएपछि यमनमा पुनः लडाइँ चर्किएको छ। द्वन्द्वका कारण यमन गम्भीर मानवीय सङ्कटबाट गुज्रिरहेको छ।