मनाङ — अन्नपूर्ण क्षेत्रको गङ्गापूर्ण हिमालमा हराएका दुई जना जापानी पर्वतारोहीको शव शुक्रबार फेला परेको छ। शव भेटिएका दुवै जना जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोतो हुन्।
प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार उनीहरू काठमाडौंस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शकसहित ७ हजार ४५५ मिटर अग्लो गङ्गापूर्ण आरोहणमा गएका थिए। ङिस्याङ गाउँपालिका–६ मा पर्ने यस हिमालमा उनीहरू करिब ७ हजार ५० मिटर उचाइमा पुगेपछि असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए।
सम्पर्क टुटेपछि हेलिकप्टर र उद्धार टोली खटाइएको थियो। खोजीका क्रममा उनीहरूले प्रयोग गरेका झोला र आरोहणका सामान पहिले नै फेला परिसकेका थिए। निरन्तरको खोजपछि शुक्रबार हिमालको दक्षिणी भागमा करिब ६ हजार ३०० मिटर उचाइमा दुवैको शव भेटिएको हो।
शवलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ। आवश्यक परीक्षणपछि नेपालस्थित जापानी राजदूतावासको समन्वयमा शव परिवारलाई जिम्मा लगाइने जनाइएको छ।