काठमाडौं । नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादसैँको मुख्य पर्व विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । मान्यजनबाट रातो टीका र जमरा लगाएर आशीर्वाद लिने चलन बिहानैदेखि सुरु भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको शुभ साइत परेको छ । टीका लगाउन बिहान १० बजेर २६ मिनेटलाई उत्तम समय मानिएको छ । समितिका अनुसार टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाउने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने छ ।
घटस्थापनादेखि विधिपूर्वक राखिएको जमरा र रातो टीका आज घरका ज्येष्ठ सदस्यबाट लगाई आशीर्वाद लिइन्छ । रातो टीका शक्ति, विजय र सौभाग्यको प्रतीक हो भने जमराले उर्वरता र समृद्धिको सङ्केत गर्छ ।
धार्मिक मान्यताअनुसार विजयादशमी देवी दुर्गाले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय हासिल गरेको दिन हो, त्यसैले टीका लगाउँदा जीवनमा सत्य र धर्मको जित होस् भन्ने कामना गरिन्छ । मान्यजनले आशीर्वादका श्लोक पढ्दै आयु, ख्याति, ऐश्वर्य र कीर्तिको कामना गर्छन् । यो पर्वले टाढा रहेका परिवारका सदस्यलाई एक ठाउँमा ल्याउँदै मेलमिलाप र सद्भाव बढाउँछ । आजको दिनभर मान्यजनका घरमा टीका लगाउन आफन्तको भिड लाग्ने परम्परा छ ।
