ललितपुर – महानवमीको दिन पाटनमा ऐतिहासिक मानमानेश्वरी पायः जात्रा (खड्ग जात्रा) धुमधामका साथ मनाइएको छ। असत्यका प्रतीकमाथि सत्यले विजय हासिल गरेको सम्झनामा वर्षेनी यो पर्व आयोजना गर्ने परम्परा छ।
मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठका अनुसार नवमीको बिहान पाँच बजे मङ्गलबजारको मूलचोकबाट खड्ग निकालेर महालक्ष्मी मन्दिर पुर्याइ पूजा थालिएको थियो। पाटन दरबार क्षेत्रकी लिच्छविकालीन मानमानेश्वरी देवीको सञ्चालक गुठी ‘मू छेँ आँगन घर’ ले शास्त्रीय विधिअनुसार पूजापाठ सम्पन्न गरेको थियो। त्यसपछि झाँकी र बाजागाजासहितका सहभागीहरू महालक्ष्मी मन्दिर पुगेका थिए।
मन्दिरमा तान्त्रिक विधिद्वारा देवीको शक्ति आह्वान गरी पूजा सकिएपछि गुठियार तथा सहभागीहरूले हातहातमा पुरानो खड्ग बोकेर सहर परिक्रमा गरी पुनः मूलचोकमा फर्किएका थिए।
समितिका सचिव बुद्धिराज शाहीले जात्रा घटस्थापनादेखि विधिवत् सुरु हुने जानकारी दिए। महाअष्टमी र महानवमीमा विशेष रौनक हुने यस जात्रामा अष्टमीको मध्यरातमा पाटन दरबार स्क्वायरकी तलेजु भवानीको शक्तिस्वरूप मानिने पुरातन खड्गसँगै राँगो, बोका र हाँसलाई मूलचोकमा दर्शन गराइन्छ। बिहान महालक्ष्मी मन्दिरमा तन्त्र साधना र बलिपूजा सकेपछि खड्गलाई पुनः मूलचोक ल्याउने चलन छ।
टीकापछिको त्रयोदशीका दिन जात्रा औपचारिक रूपमा सम्पन्न हुनेछ। लिच्छविकालीन राजा मानदेवका नाति वसन्तदेवको समयदेखि चल्दै आएको यो पुरानो जात्रामा मानमानेश्वरी देवी सञ्चालन गुठीसहित ३२ वटा खलकको सामूहिक भूमिका रहँदै आएको छ।
