काठमाडौँ — आज विजयादशमीको दिन देशका धेरै घरआँगनमा दसैँको उल्लास छाएको छ। मान्यजनको हातबाट टीका र जमरा थाप्ने, आफन्तसँग भेटघाट गर्ने र मीठोमसिनो खाने भ्याईनभ्याई धेरैलाई छ। तर गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले घरबार र आफन्त गुमाएका परिवारका लागि यो दसैँ विगतका जस्तो खुशी लिएर आउन सकेको छैन।
नुवाकोटको विदुर नगरपालिका–१० का वडाध्यक्ष गणेशकुमार नेपाल भन्छन्, बाढीले धेरै घर र प्रियजन गुमेपछि टीका लगाउने कुरा उनीहरूका लागि निकै टाढाको विषय बनेको छ। “घर छैन, सम्पत्ति छैन, आफन्त छैनन् — टीका लगाउने त कुरै भएन,” उनको भनाइ छ। छिमेकी विदुर–११ मा प्रत्यक्ष क्षति नभए पनि छिमेकीकै पीडा देखेर स्थानीयको उत्साह घटेको वडाध्यक्ष बाबुराम तामाङ बताउँछन्।
रसुवाको उत्तरगया–५ का बासुदेव लामिछानेले छ दशकको जीवनमा अहिलेको जस्तो पीडादायी दसैँ कहिल्यै अनुभव नगरेको बताउँछन्। बाढीले उनको सम्पत्ति बगायो, आफन्त र गाउँले गुमाए। गोरखाको पालुङटार–५ मा पनि शोकको सन्नाटा छ — बाढीले ३० जना छिमेकीको ज्यान लिएपछि गाउँमा दसैँको चहलपहल नभएको वडाध्यक्ष दीपक पाण्डे बताउँछन्। बाढीले बगाएको पृथ्वी यातायातको बसमा ३६ यात्रु थिए, जसमध्ये ६ जना मात्रै सकुशल रहेका थिए।
कतै सामाजिक सञ्जालमा टीका–जमराका तस्बिर छरिएका छन्, कतै घर नै नभएका परिवार प्रियजनको सम्झनामा डुबेका छन्।
