गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू बाल्यकालमा देखेको एउटा अनुभवले राजनीतिमा आउने बाटो देखाएको बताएका छन्। पोखरामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले हरेक नागरिकले स्वतन्त्र रूपमा बोल्न, हिँड्न र आफ्ना विचार राख्न पाउनुपर्छ भन्ने भावनाले आफूभित्र राजनीतिक चेतना जागेको बताए।
उनले आफू १०–११ वर्षको हुँदाको प्रसंग सम्झिए। त्यसबेला लोकतान्त्रिक आन्दोलनमा संलग्न नेताहरू राति उनको घरमा आउने र उज्यालो भएपछि मात्र निस्कने गरेको उनले बताए। ती नेताहरू किन दिउँसो खुलेर हिँड्न सक्दैनथे भन्ने कुराले आफूलाई निकै कौतूहल जगाएको उनको भनाइ थियो। पछि बुझ्दै जाँदा उनीहरूले खुलेर बोल्न र हिँड्न पाउने अवस्था नरहेको थाहा पाएको उनले बताए।
मुख्यमन्त्री पाण्डेले बाल्यकालमा रामचन्द्र पौडेललगायतका नेताहरू आफ्नो घरमा आउने गरेको स्मरण गरे। त्यस अनुभवले नै नागरिक स्वतन्त्रताको पक्षमा उभिने प्रेरणा दिएको र आफू राजनीतिमा आएको उनले बताए। नेपाली कांग्रेसका नेतासमेत रहेका पाण्डेले स्वतन्त्रता र लोकतान्त्रिक मूल्यप्रतिको त्यही भावनाले आफूलाई राजनीतिक जीवनमा प्रवेश गराएको बताए।
उनले कांग्रेसभित्र जेल र नेल सहेर पनि कुनै राजकीय पद नपाएका कार्यकर्ताको योगदान सम्झनुपर्नेमा जोड दिए। पद र अवसर पाएका व्यक्तिलाई मात्र होइन, लामो समयदेखि पार्टीमा योगदान गर्दै आएका तर अवसर नपाएका साथीहरूको सम्मान गर्न सकिएमा मात्र वास्तविक आत्मसन्तुष्टि प्राप्त हुने उनको भनाइ थियो।
